"भानुभक्त तुलसीदासजत्तिकै"
काठमाडौ, अषाढ ३१ - नेपालगन्जवासी सच्चिदानन्द चौबे २०१८ मा पहिलोपटक काठमाडौं आएका थिए । उनी आएको दिन नयाँ सडकभित्रको रञ्जना सिनेमा हलको उद्घाटन रहेछ ।
'आज रञ्जना हल भत्किसकेको अवस्थामा काठमाडौं आएको छु,' त्यही हलसँगैको मारवाडी गेस्ट हाउसमा बुधबार दिउँसो भेटिएका अवधी भाषाका अगुवा स्रष्टा चौबे भन्दै थिए, '५० वर्षको अन्तरमा यो काठमाडौं नचिनिने भएछ ।' अवधी, हिन्दी र नेपाली भाषामा उत्तिकै सक्रियतासाथ लेखन निरन्तरता राख्ने चौबे यसपल्ट क्षेत्रीय प्रतिभा पुरस्कार थाप्न राजधानी आएका हुन् । -उनी २०१८ सालमा भने भेरी अञ्चलबाट भलिबल टिमको नेतृत्व गरेर खेलाडीका रूपमा आएका रहेछन् ।)
Read More...
चौबेले अवधी भाषामा अनुवाद गरेको नयनराज पाण्डेको 'उलार' उपन्यास, अवधी भाषामा भगवान् बुद्धको जीवनचरित्र, कजरी तीज, सत्यनारायण कथा र बृहस्पद कथा अवधी भेगका बजारमा पाउन सकिन्छ । 'मैले २७ सय दोहा रहेको भानुभक्तको रामायण अवधीमा अनुवाद गरिसकेको छु,' उनी भन्दै थिए, 'अहिले प्रकाशकको खोजीमा छु ।'
उनले अवधी समाजमा नेपाली भाषाका प्रतिभा महाकवि देवकोटा, युवाकवि मोतीराम र आदिकवि भानुभक्तलाई चिनाउन उनीहरूको कवितात्मक जीवनचरित्र प्रकाशित गरिसकेको जानकारी दिए ।
बर्दिया, बाँके र कपिलवस्तुमा गरेर १५ लाखजति अवधीभाषी रहे पनि भाषिक कठिनाइका कारण उनीहरूले नेपाली भानुभक्तको भन्दा भारतीय तुलसीदासको 'रामचरित मानस' पढ्ने गरेको रहस्य चौबेले पहिल्याएका रहेछन् । 'यही कारण मैले हाम्रा भानुभक्तको रामायणलाई अवधी भाषामा ल्याउन चाहेको हुँ,' नेपालगन्जस्थित अवधी सांस्कृतिक विकास परिषद्का अध्यक्षसमेत रहेका चौबेले भने, 'हामीले अरूलाई भन्न सक्नुपर्छ कि तुलसीदासभन्दा कम हाम्रा भानुभक्त छैनन् ।' २०१३ देखि लगातार ४२ वर्ष स्थानीय नारायण इन्टरकलेजमा शिक्षक रहेका चौबे महेन्द्र पुस्तकालयमा पनि २०३८ देखि सम्बद्ध छन् । आफ्ना विद्यार्थीमध्ये नयनराज पाण्डे, सनत रेग्मी -सदस्यसचिव, प्रज्ञा प्रतिष्ठान) आज 'साहित्यिक उचाइ' को नाम बनेकामा चौबे प्रफुल्लित देखिन्थे ।
उनले रामायणबाहेक गीता र केही धार्मिक ग्रन्थलाई पनि अवधी भाषामा उतारेका छन् । 'कुनै उपन्यास वा कविता कृति केही वर्षका लागि उपयोगी होलान्, तर रामायण, महाभारत भनेका सदाबहार सृजना हुन्,' उनले थपे, 'यही कारण मैले धार्मिक ग्रन्थ अनुवादमा बढी मन दिएको हुँ ।'
यो गफगाफ भइरहेका बेला चौबेका एक चेला उपन्यासकार पाण्डे पनि साथैमा थिए । 'अवधी भाषा, साहित्यमा चौबेजत्तिका योग्य गुरु अरू कोही छैनन्,' पाण्डेले भने, 'कुनै प्रचारप्रसार, अवसर र मौका नपाएर उहाँको नाम ओझेलमा परेको हो ।'
सम्मान कि अपमान ?
राष्ट्रिय प्रतिभा र साझा पुरस्कार वितरणको साइत भानुजयन्तीमै परेको थियो । उस्तै विशिष्ट सम्मानका लागि संस्कृति मन्त्रालयले दिने १ लाख र ५० हजार रुपैयाँका राष्ट्रिय र क्षेत्रीय पुरस्कारमा २५ प्रतिशत कर कट्टी गरिएको थियो भने साझा पुरस्कारको ५१ हजार एक पैसा नकाटी स्रष्टाले पाएका थिए ।
'५० हजारको क्षेत्रीय पुरस्कार भनियो, तर ३७ हजार ५ सयको चेक पाएँ । भ्रमण खर्च २६ सय दिने भनिएकोमा ६ सय रुपैयाँ मात्रै पाएँ,' साहित्यकार चौबे दुखेसो पोख्दै थिए, 'यत्रो सम्मान लिन आउँदा न एक रात बासको प्रबन्ध गरिएको छ, न एक छाक खानाको सहुलियत छ । यो सम्मान हो कि अपमान ?'
पुरस्कार राशि, भ्रमण खर्च र अन्य सुविधाबारे प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव सनत रेग्मी र संस्कृति सचिव मोदनाथ डोटेलले समेत 'मौखिक आश्वासन' दिएकाले आफू ढुक्क भएर काठमाडौं आएको उनले बताए । प्रतिभा पुरस्कारमा दिइएको प्रमाणपत्रमा समेत आफ्नो नाम गलत गरेर 'सचितानन्द चौबे' लेखिएकोमा उनले गुनासो गरे ।
राज्यले दिने पुरस्कारमा 'क्षेत्रीय' र 'राष्ट्रिय' भनेर विभाजन गर्नुको कुनै अर्थ नरहेको समेत उनको बुझाइ थियो ।
'सबै लेखक, प्रतिभा बराबर हुन्,' उनले भने, 'राज्य आफैं विभाजनकारी भएर प्रतिभालाई क्षेत्र, समूह, वर्गमा बाँड्नुको अर्थ के हो ?'